शुक्रबार, वैशाख २८, २०८१

बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय

नेपालखोज २०७६ माघ १० गते १८:२९

वासिङ्टन, एजेन्सी । सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ ।

अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको परिसरमा सेप्टेम्बर ११, २०१२ मा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अरु तीन जना अमेरिकी मारिएका थिए ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकमाथि जघन्य अपराधमा संलग्न जोकोहीमाथि कडा सजाय गर्न अमेरिका प्रतिबद्ध रहेको प्रतिक्रिया दिए।

इमामलाई अमेरिकी विशेष फौजले अक्टोबर २०१७ मा लिबियामा गिरफ्तार गरी अमेरिका ल्याएको थियो । बेंगाजी आक्रमणका अर्का दोषी अहमद अबु खट्टालालाई पनि अमेरिकामा मुद्दा चलाई २२ वर्षको जेल सजायमा थुनिएको छ ।

राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमै निकै ठूलो तरङ्ग ल्याएको थियो । तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । तर उनले आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया