शुक्रबार, वैशाख ७, २०८१

सेनाको गुप्तचर बलियो बनाउने कानून ल्याइँदै

नेपालखोज २०७६ माघ १२ गते ८:२५

१२ माघ, काठमाडौं । नेपाली सेनाभित्र रहेको गुप्तचरी सेवालाई अझ बलियो बनाउने गरी कानून ल्याउन लागिएको छ । सेनाको गुप्तचरीलाई बलियो बनाउनका लागि रक्षा मन्त्रालयले कानूनको मस्यौदा तयारी गरिरहेको श्रोतले बताएको छ ।

यदि सो कानूनमा आएको अवस्थामा राष्ट्रिय सुरक्षामा आघात पुग्नेगरी कुनै आतंकवादी गतिविधि भए त्यसको अनुसन्धानमा सैन्य गुप्तचर परिचालन गर्न पाइनेछ। रक्षा मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय अखण्डतासँग जोडिएका विषयमा हुने सैन्य गुप्तचरीलाई कानुनतः बलियो बनाउने गरी ऐन ल्याउन लागिएको हो।

नेपाली सेनाअन्तर्गत हाल सैन्य गुप्तचर महानिर्देशनालय अन्तर्गतको डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डिएमआई) लाई नै गुप्त रूपमा अनुसन्धानका लागि विशेष प्रकारको सुराकी प्रयोग गर्न दिने तयारी भएको स्रोतको दाबी छ। यसबाट नेपाल प्रहरीको विशेष ब्युरो र राष्ट्रिय अनुसन्धान विभागले गर्ने गुप्तचरी पद्धतिलाई सेनाभित्र पनि ऐन बनाएर प्रवेश गराउन खोजिएको देखिन्छ।

स्रोतका अनुसार सो ऐन सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउन ल्याइएको विशेष सेवा ऐनसँगै अघि बढाउन खोजेको थियो तर कानुनसँग बाझिएको भन्दै कानुन मन्त्रालयले त्यसलाई रक्षामै फिर्ता पठाएका कारण रोकिएको थियो। ‘रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी कानुन मन्त्रालयमा रायका लागि पठाएको थियो र त्यसलाई फिर्ता गरिएको छ,’ कानुन मन्त्रालय स्रोतले भन्यो।

प्रतिक्रिया