बाजुरामा फेरि हिमपात, जनजीवन प्रभावित, काम काजमा सास्ती
नेपालखोज
२०७६ माघ १९ गते ९:०८
१९ माघ, बाजुरा । बाजुराका उच्च भू–भागमा पुनः हिमपात सुरु भएको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । सातौँ पटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ ।
स्थानीय बजार पनि बन्द छन् । ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ ।
हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन् । चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।
सम्बन्धित
प्रतिक्रिया