मंगलबार, वैशाख ११, २०८१

मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘कोरोनाबाट डराउने होइन सतर्क हुनु जरुरी छ’

नेपालखोज २०७६ माघ १९ गते १६:५२

चीनमा देखा परेको कोरोना भाइरसको संक्रमण संसारका ११ वटा देशमा फैलिएको छ । छिमेकी मुलुक चीनबाट नेपालमा पनि भित्रिएको भनिएको कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ ? यसको संक्रमणका लक्षणहरु के–कस्ता हुन्छन् ? यसबाट जोगिनको निम्ति नेपाल सरकारले कस्तो प्रयास गरिरहेको छ भन्ने बिषयमा नेपाल खोजले स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठसँग गरेको कुराकानीको सारांश :

कोरोना भाईरस के हो ? बजारमा यति धेरै त्रास फैलिएको छ, के वास्तवमै डराउनुपर्ने स्थिति सिर्जना भएकै हो त ?

त्रास भन्दा पनि सतर्क चाहिँ हुनुपर्ने अवस्था आएकोे छ । चीनमा भेटिएको कोरोना भाईरस एक महिनाकै छोटो अवधिमा संसारका ११ वटा अन्य देशहरुमा पनि फैलिइसक्यो । चीन बाहिर ३७ जना बिरामी पुगिसकेका छन् भने चीनमा २ हजार बिरामी भेटिएको र १०० भन्दा धेरैको मूत्यु भइसकेको तथ्याङ्क आएको छ । यो सरुवा रोग हो, हामीले सतर्कता अपनायौँ भने यसबाट जोगिन सकिन्छ ।

यो भाईरस कसरी यहाँसम्म आईपुग्यो ? यसका लक्षणहरु बताउनोस् न ।

संसारमा हरेक बर्ष नयाँ रोगहरु आईरहेका छन्, कुनै अरु देशबाट आउछन,् कुनै नयाँ आउँछन् भने कुनै पुरानो रोग फेरि प्रकोप बनेर आउँछन् । कोरोना भाईरस संसारका लागि नयाँ रोग हो । पहिला यो जनावरहरुमा थियो । तर मान्छेमा भने भर्खरै आएको हो । यो भन्दा अगाडि ६ प्रकारको कोरोना भाईरस आईसकेको थियो । अहिले आएको नयाँ सातौँ प्रकारको कोरोना भाईरस हो । ३१ नोभेम्बर २०१९ मा चिनले डब्ल्यू एच ओ लाई नयाँ रोग आएको जानकारी दियो र ७ डिसेम्बरमा यो कोरोना भाईरस हो भनेर प्रमाणित भयो । त्यसपछि संसारभरि यो रोग फैलिँदै गयो । नेपालको सन्दर्भमा चीनमा पढ्न भनेर गएका एकजना नेपाली ९ जनवरी २०२० मा नेपाल आए, उनलाई सामान्य रुघाखोकी लागेको थियो । उनले कतै कोरोना त हैन ? भन्ने शंका गरे र टेकु अस्पताल गए । टेकु अस्पतालले थप जाँचका लागि हङकङ पठायो र त्यहाँको अस्पतालले कोरोना पोजेटिभ देखाएपछि उनको थप उपचार गरियो र अहिले उनलाई डाक्टरको निगरानीमा डिस्टचार्ज गरिएको छ ।

यो कुन हदसम्म फैलिन सक्छ ? यसबाट कसरी सतर्क रहने ?

शुरुमा यो जनावरमा थियो । जनावरबाट जनावरमा फैलिन्थ्यो । तर अहिले यो मान्छेबाट मान्छेमा फैलिन थालेको छ, यसबाट भयावह स्थिति पनि सृजना हुन सक्ने देखिन्छ । यहि कारण हामी सचेत हुनुपर्ने देखिन्छ । कोरोना भाईरस लागेको मान्छेसँग सम्पर्कमा रहेको मान्छेलाई १५ दिनको अवधिसम्म पनि यो रोग सर्न सक्छ । नेपालमा फैलिन नदिनका लागि चीनबाट आउने प्रत्येक मान्छेलाई यदि केही लक्षण देखियो भने हामीले जाँच गरिरहेका छौँ, अहिले सम्म ३ जनाको स्वास्थ्यपरीक्षण गरिसक्यौँ, जसमा तिनैजनाको नेगेटिभ छ । यो अरु रुघाखोकी भन्दा धेरै कडा छैन त्यसकारण रुघा मात्र हो भनेर यसै बस्ने अवस्था भने छैन । यसबाट जोगिनका लागि हात धुने, हात नमिलाउने, चीनबाट आएको मान्छेहरु हो भने रुघा खोकी लागे पनि स्वास्थ्य परीक्षण गराउने, मुख छोपेर मात्र हाछ्युँ गर्ने, धेरै भीडभाड भएको स्थानमा नजानेजस्ता सावधानी अपनाउनुपर्छ ।

चीनबाहेक अरु देशबाट आउनेबाट पनि त खतरा होला नि ?

अहिलेसम्म चीन बाहिर ३७ जनामा यो संक्रमण देखिएको छ । जसमध्ये ३६ जना चाहिँ चीनबाट अरु देशमा गएका मान्छेहरु छन् भने एकजना भियतनामको नागरिक छन् । यसबाट चीन बाहेक अरु देशहरुबाट धेरै खतरा छैन भन्ने प्रष्ट हुन्छ । तैपनि सचेत त हामी हरेक परिस्थितिमा रहन जरुरी छ । आत्तिएर झनै आत्मबल कम हुन्छ । सजग हुनुपर्छ ।

सजगताका लागि स्वस्थ्य मन्त्रालयले समग्रमा नेपाल सरकारले नै चालेका कदमहरु के–के हुन ?

हामीले प्रचार प्रसारका लागि विभिन्न सामग्रीहरु बनाएका छौँ, विभिन्न टेलिभिजन र रेडियोहरुमा कार्यक्रम शुरु गरेका छौँ । मन्त्रालयको वेवसाईटमा पनि यी सामग्रीहरु छन् । यस्तै विभिन्न अस्पतालहरुलाई पूर्वतयारीका लागी भनेका छौँ । विरामीहरु तत्काल आएमा के गर्ने भन्ने कुरामा सचेत गराएका छौँ । विभिन्न पर्यटकीय स्थलहरुमा हेल्प डेस्क राख्ने तयारी भईरहेको छ । यसको औषधि छैन, लक्षणहरुको उपचार गर्ने हो ।

यस्ता प्रकोपहरु भित्रिरहँदा सञ्चार माध्यमहरुले खेल्नुपर्ने भन्दा फरकखाले भूमिका खेलेका हुन कि ? के भन्नुहुन्छ ?

वास्तवमै कहिलेकाहिँ सञ्चार माध्यमहरुले धेरै अफवाह फैलाउँछन् । अहिले हामी भ्रमण बर्षमा छौँ, सञ्चार माध्यमहरुले फैलाएका अफवाहहरुले यो महत्वपूर्ण योजनामा समेत धक्का पुग्न सक्छ । सञ्चारकर्मीहरुले सही सुचना सम्प्रेषण गर्ने गर्नुपर्छ । यहाँ छापिएका कुराहरु संसारभर सेकेन्डमै पुग्न सक्छन्, यसबाट नेपाल भ्रमणको तयारी गरिरहेका विदेशी नागरिकहरुलाई प्रभाव पार्न सक्छ । हामीले हरेक दिन प्रवक्तामार्फत जे जानकारी दिएका छौँ, यो मात्र आधिकारिक हो । स्वास्थ्य संवेदनशील कुरा भएकाले यसमा धेरै हल्लाहरु हुन्छन् ।

अन्त्यमा आम यसबाट बच्न सर्वसाधारणले गर्न नहुने कामहरु के–के हुन् ?

यो रोग लाग्दा रुघा लाग्ने, स्वासप्रस्वासमा गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने यस्ता लक्षणहरु देखापर्छन, यसो हुनाले हिड्दाखेरी मास्क लगाएर हिड्ने, हात धुने, हात नमिलाउने, संकास्पद मान्छेले स्वास्थ्यपरीक्षण गर्ने जस्ता कामहरु गरियो भने यसको खतरा कम हुन्छ ।

प्रतिक्रिया