शुक्रबार, वैशाख १२, २०८२

युवा नेतृत्वकालागि ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’ आयोजना गरिदै

नेपालखोज २०७६ माघ २२ गते १६:२१

काठमाडौँ । युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास सहयोग पु¥याउने उद्देश्यले शुक्रबार काठमाडौँमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’ गरिने भएको छ । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने न्यू समिटका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले जानकारी दिए।

करीब तीन हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुनेछ । उनले विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने बताए ।

कन्क्लेभमा काठमाडौँ उपत्यकासहित देशका १० मुख्य शहरबाट विद्यार्थीले सहभागिता जनाउने छन् । “परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो”, डा ज्ञवालीले भने, “विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य छ ।”

उनले कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने बताए। काठमाडौँ मोडल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको बताए । “युवामा विदेश मोह बढ्दै गइरहेको छ”, उनले भने, “स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गर्नेछौँ ।”

कार्यक्रममा केवाइसी–२०२० युथ आइकनबाट क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई रु एक लाख र केवाइसी–२०२० विशेष अवार्डबाट राष्ट्रिय खेलाडी (तेक्वान्दो) आयशा शाक्यलाई सम्मान गरिने भएको छ । गत वर्षदेखि शुरु गरिएको कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया