मुक्तिनाथले ६ महिनामा ४७ करोड २५ लाख रुपैयाँ कमायो
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड २५ लाख १२ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९.९३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा यस बैंकले ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पछिल्लो समय यस बैंकले अन्य केही वाणिज्य बैंकहरुले भन्दा पनि धेरै नाफा आर्जन गर्दै आएको छ ।
यस्तै, बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १९.५४ प्रतिशत र ८.६६ प्रतिशतले बढोत्तरी गर्न सफल भएको छ । गत वर्ष ९१ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले अहिले बढाएर १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ६२ करोड ११ लाख रुपैयाँबाट बढाएर ६७ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । बिहीबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको चालु आवको ६ महिनामा वितरणयोग्य नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ ।
बैंकले पुस मसान्तसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ७९ करोड ९८ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा ३६ करोड ७३ लाख रुपैयाँ छुट्याएको छ । मुक्तिनाथको खराब कर्जा ०.११ प्रतिशत पुगेको छ ।
गत वर्ष खराब कर्जा ०.०५ प्रतिशत थियो । बैंकको बेस रेट ११.१८ प्रतिशत छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा वार्षिक रहेको मुक्तिनाथाको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा छ ।
प्रतिक्रिया