उद्योग राज्यमन्त्रीको कम्पनीबाट उत्पादित कुरकुरे ट्रेडमार्क विवादमा
काठमाण्डौ । उद्योग मन्त्रालयको जिम्मेवारीमा रहेका राज्यमन्त्री मोती दुगडको कम्पनीले उत्पादन गरेको कुरकुरेमा प्रयोग भएको ट्रेडमार्क विवादमा परेको छ ।
प्राप्त जानकारी अनुसार नेकपाको कोटाबाट प्रधानमन्त्री केपी ओलीलाई खुशी बनाई उद्योग राज्यमन्त्री बनेका मोती दुगडकै कम्पनीबाट उत्पादन भएको केही उत्पादनमा चोरीको ट्रेडमार्क भन्दै उनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा समेत परेको छ ।
सो मुद्दा राज्यमन्त्री दुगडकै विरुद्धमा परेपछि पाटन उच्च अदालतले कुरकुरे ट्रेडमार्क विवाद सल्टाउन उद्योग विभागलाई जिम्मा दिएको समेत बुझिन आएको छ ।
१० वर्षअघि बहुराष्ट्रिय खाद्यान्न उत्पादक कम्पनी पेप्सीको ईंकले आफ्नो उत्पादनको ट्रेडमार्क चोरी भएको भन्दै उद्योग विभागमा उजूरी दिएको थियो । २०६६ फागुन ६ मा अमेरिकी कम्पनी पेप्सीको इङ्कले विभागमा उजूरी दर्ता गराएको भएपनि हालसम्म यो मुद्दामा विभागले कुनै प्रक्रिया अघि बढाएको छैन । उच्च अदालत हुँदै अहिले यो विवाद पुनः उद्योग विभागकै क्षेत्राधिकारमा पु¥याइएको छ ।
ट्रेडमार्क चोरी गरेको आरोपमा मुद्दा खेपिरहेको दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट प्रालिका मालिक मोतीलाल दुगड आफै उद्योग राज्यमन्त्री रहेका छन् । उनै दुगडको कम्पनी विरुद्धको मुद्दा छिनोफानो गर्न उद्योग विभागले चासो दिएको छैन ।
कुरकुरे ब्रान्डलाई दाबी गर्दै अर्को कम्पनी मेरिगोल्डले पनि दुगडविरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दायर गरेको थियो । मेरिगोल्डले २०६६ साउन ६ मा कुरकुरेको ब्रा आफ्नो हो भन्दै अदालतमा रिट दायर गरेको थियो । यो विषयमा गत् २०७४ कात्तिक १४ गते सर्वोच्च अदालतले उद्योग विभाग, उच्च अदालत हुँदै आउनुपर्नेमा मुद्दा सोझै रिट दायर गरेको भन्दै मेरिगोल्डले दायर गरेको रिट खारेज गरेको थियो ।
भारतमा २०५५ सालदेखि उत्पादन सुरु भएको कुरकुरे केही वर्षमै दुगडले नेपाल भित्रिएको थियो । नेपालमा बिक्री गर्दै आएको पेप्सीले २०६४ सालमा मात्रै ट्रेडमार्कका लागि विभागमा निवेदन दिएको थियो ।
त्यसपछि कुरकुरे नेपालीको हुने की पेप्सीकोको भन्ने मुद्दा चलिरहेको छ । नेपालमा दुगड स्पाइस एन्ड फुड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहू मिल्ने भारतलगायत तेस्रो मुलुकबाट हुने आयातमा रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो । मुद्दा चलिरहेकै अवस्थामा २०७४ मंसिर ६ गते पाटन उच्च अदालतले कुरकुरे ब्रान्ड नेपाली उत्पादक दुगड ग्रुपको भएको भन्दै विदेशी कुरकुरे आयातमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो । अदालतले विदेशबाट आयात हुने कुरकुरेमा रोक लगाउने अन्तरिम आदेशलाई भने निरन्तरता दिन सकेको छैन ।
प्रतिक्रिया