शनिबार, वैशाख १३, २०८२

भोकभोकै राजनीति गर्दा भ्रष्टाचारीको ट्याग लाग्यो: पूर्वमन्त्री जोशी

नेपालखोज २०७६ माघ २६ गते १७:००

काठमाण्डौ । पुरानाजस्तो लाग्ने कपडा, आँखामा पारदर्शी चस्मा, आँखा पर्ने ठाउँमै खुस्किएको दाँत, यी सबै हुलिया हेर्दा झट्ट विश्वास गर्न गाह्रो हुन्छ कि यी कुनै समयमा यो मुलुकको मन्त्री पनि थिए भनेर । जसोतसो विश्वास लाग्यो भने पनि जो कोहीलाई यिनी पक्कै साधुवादी नेता थिए, जसले राजनीतिलाई लाभको अवसरको रुपमा लिएनन् । उनी हुन् पूर्व भूमिसुधार मन्त्री एवं नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी ।

८२ बर्षीय जोशीलाई अहिले बुढेसकालमा आएर भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा चलेको छ । जोशीमाथि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँको विगो माग दाबी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारको फोन आउँदा जोशी दुखित मात्र भएनन् अचम्मित पनि भए । उनी भन्छन्, ‘भ्रष्टाचारको के कुरा गर्ने, त्यत्रो पैसा मैले जीवनमै देखेको छैन ।’ सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त) को अध्यक्ष र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री भएका थिए ।

जोशी भन्छन्,‘प्रक्रिया अन्तर्गत फाइल आयो, प्रक्रिया पुगेको फाईललाई सम्बन्धित ठाउँमा पठाइदिनुपर्ने मन्त्रालयको दायित्व हो पठाएँ, मेरो संलग्नता यत्ति हो ।’

भोकभोकै देशका लागि राजनीति गर्दा अहिले आएर यस्तो परिणाम आएको भन्दै उनी भन्छन्,‘यत्रो रकम धरौटी राख्न मैले सक्दिन, वकिललाई पैसा दिन पनि सक्दिन, जेलमा राख्लान, ८२ बर्ष पुगिसकेँ मुद्दा फैसला हुन बर्षाै लाग्ला जेलमै मर्न पनि सक्छु ।’

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदार सहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मद्दा दायर गरेको छ ।

प्रतिक्रिया