यसरी पाए महराले सफाइ

नेपालखोज २०७६ फागुन ६ गते ५:२९

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने प्रमुख आधार बनेको हो।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि प्रतिवादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ।

‘फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, त्यो आएपछि विस्तृत रूपमा स्पष्ट हुनेछ,’ जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले भने, ‘अदालतमा प्रतिवादीको इन्कारी बयान थियो, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कुटपिट र अरू घटना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी रायकिताबमा राय व्यक्त भएको छ।’

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितहरूको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रतिवादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ । हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । जिल्ला अदालत काठमाडौंले त्यही बयानलाई प्राथमिकता दिएर न्यायनिरूपण गरेको देखिन्छ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६ (परिवर्तित नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा पूर्वसभामुख महराविरुद्ध गत कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैदको मागदाबी गरेको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया