मंगलबार, असार ३, २०८२

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना

नेपालखोज २०७६ फागुन ७ गते ८:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार आज शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताइन् ।

राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छन्।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार आज शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याए ।

प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उनको विश्वास छ ।

प्रतिक्रिया