मंगलबार, असोज १६, २०८०

मन्त्री बाँस्कोटासँग ओलीले स्पष्टीकरण लिँदै

नेपालखोज २०७६ फागुन ८ गते १३:४६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर स्पष्टीकरण लिने भएका छन्।

सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रधानमन्त्रीले जानकारी लिन लागेका हुन्।

प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भएको भेटमा पनि यस विषयमा छलफल भएको बताइएको छ ।

कार्यक्रमको निम्ति नेपालगञ्ज पुगेका मन्त्री बाँस्कोटा सिधै बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्नेछन् । विवादास्पद अडियोका बारेमा प्रधानमन्त्रीले बाँस्कोटाको कुरा सुनेपछि जे निर्देशन दिनेछन्, सोही मुताविक कदम चाल्ने अनुमान गरिएको छ ।

यसैबीच मन्त्री बाँस्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताएका छन् ।

कञ्चनपुरको बेलडाँडीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै बास्कोटाले सो अडियोको पुष्टि हुनुपर्ने बताए ।

बाँस्कोटाले भने,‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

प्रतिक्रिया