मंगलबार, वैशाख ४, २०८१

महाशिवरात्रि पर्व : पशुपतिनाथमा दर्शनार्थीको घुँइचो, दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था

नेपालखोज २०७६ फागुन ९ गते ६:३६

काठमाडौं । आज महाशिवरात्रि पर्व, देशभरका शिवमन्दिरहरुमा भगवान शिवको पूजा आराधना गरिदैँछ । हरेक वर्ष महाशिवरात्रिमा देशदेखि विदेशसम्मका लाखौंको संख्यामा भक्तजनहरु पशुपतिनाथ दर्शन गर्न आउँने गरिका छन् ।

सधैँका वर्षहरु झै यस वर्ष पनि महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजनको व्यस्थापनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया