शुक्रबार, वैशाख १४, २०८१

विश्व नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै युनेस्को

नेपालखोज २०७६ फागुन १५ गते १६:५७

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले राष्ट्रसङ्घको प्राथमिकतामा रहेको विश्व नागरिक शिक्षा कार्यक्रमलाई प्रदेश र स्थानीय तहमा लाने तयारी गरेको छ ।

शान्ति, सुरक्षा, हरित, वातावरण अनुकूलन, सरसफाइ, सामाजिक संहिता आदि विश्वको साझा सवाल भएकाले यस्ता विषयमा हरेक तहका सरकार र जनप्रतिनिधिमार्फत् जनचेतना र वकालतका लागि सो सचिवलयले कार्यक्रम अघि सारेको हो । सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले विश्व नागरिक शिक्षा र दिगो विकासको लक्ष्य नं ४ को शिक्षाका लक्ष्यप्राप्तिका लागि राष्ट्रिय कार्याढाँचाबमोजिम त्यसलाई स्थानीयकरण पनि गरिने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने सो आयोगको महासचिवमा शिक्षासचिव रहने व्यवस्था छ भने सहायक महासचिवमा डा अधिकारी गत असार २५ गते सो पदमा नियुक्त भएका थिए ।

विश्व बजार अनुकूलको सक्षम नागरिक उत्पादन गर्नु विश्व नागरिकको परिकल्पना हो । उहाँले नेपालका अमूर्त (अभौतिक) संस्कृतिको खोज अनुसन्धान र ज्येष्ठ नागरिकको अनुभवको रुपान्तरणका लागि पनि नवप्रवर्तनात्मक काम अघि सारिएको जानकारी दिए । दिगो विकासको लक्ष्य नं ४ ले ‘समावेशी, समतामूलक, गुणस्तरीय शिक्षाको सुनिश्चिता र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरको प्रवद्र्धन’ गर्ने उल्लेख गरेको छ ।

सो सचिवालयका सचिव खगराज पौडेलले युनेस्को सचिवालयले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्था, आबद्ध क्लब र विद्यालयसँग सहकार्य र समन्वयका लागि युनेस्को मुख्यालय पेरिसबाट स्वीकृत हुने परियोजना तथा कार्यक्रमका आधारमा गतिविधि सञ्चालन गर्ने जानकारी दिए । युनेस्को शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक, सञ्चार र सामाजिक क्षेत्रमा कार्यरत एक राष्ट्रसङ्घीय निकाय हो । यसको हाल १९३ मुलुक सदस्य छन् ।

प्रतिक्रिया