बिहीबार, साउन ३, २०८१

मिस वर्ल्ड २०१९ की विनेता टोनी आज नेपाल आउँदै

नेपालखोज २०७६ फागुन २२ गते ७:२२

काठमाडौँ । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि बिहीबार आज नेपाल आउँदै छिन् । उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ ।

मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमणका क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।

उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जारी गरेको विज्ञप्तिमा छ । उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन् ।

यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया