भारतबाट धूलो दूध आयात स्वीकृत दिने तयारीमा कृषि मन्त्री
-नेपाल खोज डेक्स
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यतिखेर भारतबाट धूलो दूध आयात गर्नका लागि डेरी साहुजीहरुले कृषि मन्त्री घनश्याम भुसाललाई दवाव दिन थालेका छन् । विगतका कृषि मन्त्री चक्रपाणी खनालले भारतबाट ल्याउने गरेको धुलो दूध रोक्न खोजेपछि नेकपाका दुवै अध्यक्ष मार्फत दवाव दिन लगाएका थिए साहुजीहरुले । यद्यपी उनले दवावलाई प्रतिकार गरेर धूलो दुध ल्याउनका लागि प्रतिवन्ध नै लगाई दिए जसका कारण कृषि मन्त्री चक्रपाणी खनाल मन्त्रीबाट गलहत्याइए ।
अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा आएका घनश्याम भुसाललाई त्यही धूलो दूधका कारण मन्त्री पद नै ‘खाउ भने दिनभरको शिकार नखाऊ भनेकान्छा बाउको अनुहार जस्तै भएको’ छ । मन्त्री भए लगतै शुभकामना दिन आएका डेरी साहुहरुले नेपाली किसानलाई मारेर भारतबाट धूलो दूध आयात गर्ने योजना सुनाए । भारतबाट धूलो दूध आयात नभए डेरी उद्योग नै बन्द गर्नु पर्ने अवस्था आउन लागेको समेत उनीहरुले बताए ।
कृषि मन्त्री हुनु अघिसम्म निकै लोकप्रिय देखिएका कार्लमाक्र्सका रुपमा चिनिएका मन्त्री भुसाल यतिखेर इन्तु न चिन्तु भएका छन् । धूलो दुध आयात गर्नका लागि दुग्ध विकास संस्थानदेखि निजी डेरीहरुले समेत मन्त्रीलाई नदेखिने किसिमले दवाव दिईरहेका छन् ।
मन्त्री भएर आएदेखि नै कुनै योजना सार्वजनिक नगरेका मन्त्री भुषाल अघिल्ला मन्त्री चक्रपाणीले आयातमा रोक लगाएको धूलो दुधलाई पुन खुल्ला गर्न तयारीमा जुट्न लागेका छन् । यो उनको इच्छा भने हुँदै होइन । माथिको प्रेसर भन्दै उनले धुलो दूध आयान गर्न दिने सम्भावना बढेको देखिन्छ ।
तीन महिना वितिसक्दा पनि मन्त्रालयको बारेमा अझै बुझ्दै छु भन्ने कृषि मन्त्रीले धूलो दूध बुझ्नका लागि दुई चार वर्ष नै मन्त्रीको जागिर खानु पर्ने देखिन्छ । प्राविधिक मन्त्रालय भएका कारण उनलाई यो मन्त्रालय खासै उपलब्धीमूलक हुने देखिएको छैन । मन्त्री हुन पूर्व बाहिर बसेर सरकारको सत्तो सराप गर्दै आईरहेका उनी अहिले वास्तविकता बुझ्दै छन् ।
प्राविधिक मन्त्रालय भएका कारण कर्मचारीसँग चोसो मिलाउन नसक्दा मन्त्री अहिले यता न उताका भएका छन् । त्यसमाथि पनि आफूले मन्त्रालय सम्हालेको केही समय पश्चात नै कृषि सेवा तर्फका सचिव युवकध्वज जिसीले विदेशी संस्थामा अधिकृतको जागिर खान राजीनामा दिएर गएपछि उनलाई झन् सकस परेको छ । जिसीले जाँदा जाँदै मन्त्रालयमा दुई सचिव आवश्यक नभएको भन्दै पशुपन्छी सेवा तर्फबाट सचिवबाट काम लिनु उचित भन्दै गएपछि दुईसाता वितिसक्दा पनि न सचिव नियुक्ति गर्ने पहल भएको छ न पशुपन्छी सेवा तर्फका सचिवबाट नै काम गर्न सकेका छन् ।
मन्त्री सचिवालयमा रहेको व्यक्तिहरु पनि आफ्नो स्वार्थ सिद्ध गर्नका लागि मरिहत्ते गर्नेहरु परेका कारण उनलाई मन्त्रालय हाँक्न पनि निकै सकस देखिन्छ । एकातिर मन्त्रालय सचिव विहिन अवस्थामा छ भने अर्को तिर सरकारले कृषि क्षेत्रलाई हेर्न दृष्टिकोण भित्रि रुपमा खासै प्रभावकारी छैन । त्यही भएर पनि भुसाल चुप बसिरहेका छन् ।
आफू मातहतका अधिकांश कार्यालयहरु कार्यालय प्रमुख विहिन अवस्थामा चलिरहँदा पनि उनले कार्यालय प्रमुख नियुक्त गर्न सकेका छैनन् । अव केही समय पछि रासायनिक मलको अभाव खड्कने दिन आउँदैछ त्यसपछि झन् मन्त्री भुसाललाई पद नै छाडेर जाउँ जस्तो हुने छ ।
मन्त्रालय मातहतमा रहेका अधिकांश आयोजनाहरुमा आर्थिक अनियमिता भएका कारण अख्तियारले पनि निकै चासो दिईरहेका छ ।
अझ प्रधानमन्त्री ओलीको परिकल्पनामा बनाइएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा भएको भ्रष्टाचारले कृषि क्षेत्रको बदनाम भईरहेको छ । आयोजनामा भएका आर्थिक अनियमितता रोकेर किसानसम्म पुग्ने अवस्था मन्त्री भुसालले बनाउने सक्ने अवस्था देखिएको छैन । मन्त्री भुसालले अरु केही काम नगरे पनि मन्त्रालय र मातहतबाट उपलब्ध गराईने अनुदानको सही सदुपयोग गर्ने योजना मात्र बनाए पनि सफल हुन्थे कि ? तर अहिलेको अवस्थामा मन्त्री भुषाल कुनै पनि हालतमा सफल हुने देखिँदैन ।
प्रतिक्रिया