मंगलबार, वैशाख १६, २०८२

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

नेपालखोज २०७६ फागुन २५ गते ७:४२

काठमाडौं । अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ। अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

भूमि सूधार तथा व्यवस्थापन मन्त्रालयद्वारा नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठित छानबिन प्रतिवेदनले धार परिवर्तन गर्न अघि बगेको धोबीखोलाको जग्गा कायम गर्दा जालसाजीपूर्ण ढंगले व्यक्ति विशेषका कित्तामा धोबीखोलाको जग्गा घुसाई व्यक्ति नाममा दर्ता गरेको ठहर गरेको छ। प्रतिवेदनले व्यक्तिको नाममा दर्ता भएको ठहर गरेका ती जग्गाको मूल्य करिब एक अर्ब रुपैयाा पर्ने देखिन्छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार नदी उकासको उक्त सरकारी जग्गामध्ये कित्ता नम्बर ६४ को एक रोपनी १४ आना २ पैसा दुई दाम क्षेत्रफल जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ पुस १९ मा टेकबहादुर पौडेल र कुलबहादुर निरौलाको नाममा जग्गाधनी पुर्जा तयारीगरी उपलब्ध गराइएको छ। त्यस्तै कित्ता नम्बर ६३ को क्षेत्रफल १२ आना एक पैसा सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ भदौ २० मा अग्निप्रसाद पौडेलको नाममा दर्ता गरी पूर्जा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। कित्ता नम्बर ८ को क्षेत्रफल ४ आना २ पैसा जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट सहदेव रायामाझीको नाममा जग्गाधनी पुर्जा तयारगरी उपलब्ध गराइएको प्रतिवेदनमा जनाइएको छ।

खोलाको सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा क्षेत्रफल ३ आना २ पैसा २ दाम जग्गा २०६२ जेठ १२ मा निर्मला श्रेष्ठको नाममा दर्ता गरिएको छ। त्यस्तै कित्ता नम्बर ३१ को क्षेत्रफल १० आना जग्गा पनि निर्मला कै नाममा दर्ता गरिएको फेला परेको छ। त्यस्तै कित्ता नम्बर १ सय ८३ को क्षेत्रफल ५ आना ३ पैसा २ दाम र कित्ता नम्बर १ सय ८५ को क्षेत्रफल दुई पैसा २ दामगरी ६ आना २ पैसा जग्गा राजीव र आजीव श्रेष्ठको नाममा दर्ता खएको प्रतिवेदनमा उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया