शुक्रबार, वैशाख १४, २०८१

एसइईको प्रश्नपत्र आउट हुन नदिन थप सुरक्षा, एसइई दिने परिक्षार्थी घटे

नेपालखोज २०७६ फागुन २७ गते ७:४९

काठमाडौं । अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ ।

६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए ।

अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकले ¥याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाइएको छ ।

खकुरलेका अनुसार योपटक ६ तहमा प्रश्नपत्रको सुरक्षा व्यवस्थापन गरिएको छ । यस वर्ष परीक्षा केन्द्रको संख्या वृद्धि भएको छ । अघिल्लो वर्ष देशभरमा एक हजार नौ सय ६९ परीक्षा केन्द्र कायम गरिएकोमा यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।

यस्तै, एसइई परीक्षाका लागि रजिस्ट्रेसन भरेका ३१ हजारभन्दा बढी विद्यार्थी घटेका छन् । परीक्षा नियन्त्रक खकुरेलका अनुसार रजिस्ट्रेसन भरेका विद्यार्थी घटेपछि यस वर्ष कुल चार लाख ८२ हजार दुई सय १९ सहभागी हुने भएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया