मंगलबार, असार १२, २०८१

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

नेपालखोज २०७९ चैत १६ गते ९:३६

ताप्लेजुङ । केही दिन अघिसम्म ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित फावाखोलाका गोपाल विष्ट दुई सयभन्दा बढी भेडाको बथानसहित गाउँघरमै थिए ।

पुसको अन्तिमतिर फावाखोला गाउँमा भेडा गोठ लिएर झर्नुभएका विष्ट करिब दुई महिना गाउँघरकै बसाइपछि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी आसपासमा गोठ लिएर पुगेका छन् । अब एक हप्तापछि त्योभन्दा माथिका क्षेत्रमा क्रमशः गोठ सार्दै लाने उनकाे योजना छ । विष्टका अनुसार जति चिसो घट्यो उति माथि गोठ सार्दै लैजाने गरिन्छ । उच्च गर्मीको याममा करिब चार हजार मिटरभन्दा माथिको उचाइमा पर्ने चेइराम, सेलेले, पाङ्बुलगायत उच्च क्षेत्रमा गोठ लिएर पुगिने उनले बताए । यता सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की पनि गाउँघरबाट भेडी गोठ लिएर उच्च क्षेत्रतिर सरेका छन्।

याम्फुदिन, सुरुम्खिम, कालिखोलालगायत विभिन्न खर्कमा गोठ राख्दै आउनुभएका सार्की पुस माघको ठण्डी याममा गाउँघरमै कटाएर गर्मी बढेसँगै गोठ लिएर उच्च भेग तिर सरेका हुन् । “लेकमा जाडो बढेपछि भेडा आफैँ पनि क्रमशः ओरालो झर्छन्, औलमा गर्मी बढेपछि फेरी उकालो चढ्छन्, ओरालो झर्न मान्दैनन्, भेडालाई अनुकूल हुने गरी जाडोमा औलतिर र गर्मीमा हिमाली भेगतिर गोठ सारिन्छ”, भक्तबहादुरले भने । उनीहरू जस्तै जिल्लाका भेडापालक सबै किसानले उच्च भेगतर्फ गोठ सार्दै लगेका छन् । प्रायः उच्च पहाडी तथा हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र धेरै गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक सिचो हुने भएकाले हिमाली भेगबाट गोठ औल क्षेत्रमा सार्ने गरिन्छ।

मौसमको ढाँचा र हावापानीमा हुने परिवर्तनअनुसार गोठ कहाँ-कहाँ राख्न उपयुक्त हुन्छ, सोहीअनुसार नै गोठ सार्ने र राख्ने चलन छ । मौसम अनुकूल गोठ राख्ने क्षेत्र निर्धारण गरेर भेडाको हेरचाह गरे राम्रोसँग हुर्कने तथा फस्टाउने पशुपालक बताउँछन् । ताप्लेजुङको फावाखोला, याम्फुदिन, खेवाङ, सुरुम्खिम, कालिखोला, आङ्खोप, लिङ्खीमलगायत गाउँका किसानले व्यावसायिकरूपमा भेडापालन गर्दै आएका छन् । एक दशक अघिसम्म ग्रामीण क्षेत्रका धेरैजसो किसानले व्यावसायिक भेडापालन गर्ने गरे पनि चरन क्षेत्रको अभावलगायतका कारण भेडा पाल्ने चलन क्रमशः घट्दै गएको छ ।

भूमि प्रयोगमा भएको परिवर्तन, जलवायु परिवर्तन, दक्ष जनशक्तिको अभाव र जङ्गली जनावरको आक्रमण जस्ता कारणले भेडीगोठ घट्दै गएको स्थानीयवासीले बताएका छन् । “पहिले खर्कका रूपमा रहेका जमिनमा अलैँची, चिराइतो जस्ता खेती हुन थालेका छन्, कृषि भूमिमा घरसहित संरचना बनाउने क्रम बढ्दो छ, मौसममा आएको अस्वाभाविक परिवर्तनले चरन क्षेत्र मासिन थालेका छन्, जङ्गली जनावरको आक्रमण, गोठ रेखदेख गर्ने जनशक्तिको अभावले पनि भेडापालन घटेको हो”, सिरिजङ्घा-८ याम्फुदिनका खड्क गुरुङले भने । पछिल्लो समय जङ्गली जनावरले भेडामाथि आक्रमण गरेर मार्ने भएकाले धेरै किसान यसको मारमा परेका छन् । जङ्गली कुकुर, चितुवालगायतका आक्रमणमा परेर भेडा मर्दा ठूलो क्षति पुग्ने किसानले बताए । ग्रामीण संस्कृति र अर्थतन्त्रको बलियो आधार मानिने भेडापालनका लागि किसानलाई आकर्षित गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ ।

वास्तविक किसानसम्म अनुदान पु¥याउने, हाल दिँदै आएको अनुदानको दायरा बढाउने, चरिचरन क्षेत्रको विस्तार र संरक्षण, बजारीकरणलगायत कुरामा तीन वटै तहका सरकारले सहयोग गर्नुपर्ने गुरुङको भनाइ छ । भेडालाई बहुउपयोगी पशुका रूपमा लिइन्छ । भेडाको ऊन कम्मल, राडी, स्वेटरलगायत कपडा बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रूपमा प्रयोग हुने गरेको छ । आगोले पोलेमा, शरीरमा घाउ खटिरा आएमा, चोटपटक लागेमा भेडाको घ्यू प्रयोग गरे फाइदा पुग्ने बताइन्छ । यसको मासुसमेत प्रायले रुचाउँछन् । भेडाको ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् । जाडो र बर्सातका समयमा ऊनबाट बनेका कपडा उपयोगी हुने स्थानीयवासी बताउँछन् । भेडापालन गर्न सके आय आर्जनमा यसले महत्त्वपूर्ण सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया