शनिबार, वैशाख १३, २०८२

कोरोना भाइरस संक्रमित ५ प्रतिशतको मृत्यु

नेपालखोज २०७६ फागुन २७ गते १४:४१

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको खबरले विश्वभरका मानिसहरु त्रसित छन् । यस भाइरसबारे आम मानिसहरुमा चर्चा यसरी हुने गरेको छ मानौँ यसको संक्रमण भयोकी मानिसको मृत्यु भैहाल्छ तर यो अफवाह मात्र भएको चिकित्सकहरु बताउँछन् । अहिलेसम्मको आकडा हेर्दा कोरोना भाइरसको सङ्क्रमण भएका मानौँ १ सय जना छन् भने ति मध्ये ५ जनाको मात्र मृत्यु भएको छ । अर्थात कोरोना भाइरसको संक्रमण भएका मध्ये झण्डै ५ प्रतिशतको ज्यान गएको हो । अहिलेसम्म १ सय १३ देशका १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोनाको सङ्क्रमण भएकोमा ४ हजार २७ जनाको ज्यान गएको छ ।

६४ हजार ९९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार ३ सय ५ जनाको उपचार भइरहेको छ । ज्यान गुमाएकामध्ये धेरैजसो बुढाबुढी र दीर्घरोगी छन् ।

यसअघि सन् २००३ मा २६ देशमा फैलिएको कोरोनाकै प्रजातिको रुपमा रहेको सार्स सङ्क्रमितमध्ये १० प्रतिशतको ज्यान गएको थियो । २०१४ मा इबोला सङ्क्रमण भएका २५ प्रतिशतको ज्यान गएको थियो भने सन् २००९ मा स्वाइन फ्लूका कारण साढे ४ प्रतिशतले ज्यान गुमाएका थिए ।

छुट्टै खोप वा औषधि बनिनसकेको भए पनि केही सावधानी अपनाउने र खानपानमा ख्याल गर्ने हो भने कोरोनाबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । अहिले मौसमी रुघाखोकी लाग्ने समय पनि भएकाले रुघाखोकी लाग्दैमा कोरोना नै भएको भनेर नआत्तिन चिकित्सकको आग्रह छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नफैलिएकाले रुघाखोकी लागे तातो झोलिलो खानेकुरा खाएर घरमै आराम गर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्ने चिकित्सक बताउँछन् । भाइरस संक्रमणको जोखिमबाट जोगिन साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने, रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउने जस्ता सतर्कता अपनाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया