भारतीय दूतावासद्वारा दार्चुला र धनुषा जिल्लामा विद्यालय भवन निर्माण गर्न सम्झौता
काठमाण्डौ । काठमाण्डौ स्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला जिल्लाको धापस्थित श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषा जिल्लाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि महाकाली नगरपालिका, दाचुर्ला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत यी दुई विद्यालयहरुको निर्माण कूल ने.रु. ७३.९६ मिलियनको लागतमा हुनेछ । श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय ने.रु. २९.६४ मिलियनको लागतमा निर्माण हुनेछ भने वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका ने.रु.४४.३२ मिलियन छुट्याइएको छ ।
यी विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भनेबोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण लगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दाचुर्ला एवम् मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्नेछन् । यस परियोजनालाई सङ्घीय तहमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्नेछन् ।
माथि उल्लिखित दुई विद्यालय बाहेक कपिलवस्तु जिल्लाको महाराजगङ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निर्माणका लागि भारत सरकारले ने.रु. ३३.०५ मिलियन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कूल रकमको पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगङ्ज महानगरपालिकाका मेयरको उपस्थितिमा ने.रु. ८.२६ मिलियनको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिले सम्पूर्ण टेन्डर प्रक्रिया सम्पन्न गरी विद्यालय भवन निमार्ण कार्यको जिम्मा एम/एस दया निर्माण सेवा रुपन्देहीलाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया