कोरोना भाइरस : भारतमा चार जनाको मृत्यु, मोदीद्वारा जनता कर्फ्यु लगाउन अपिल
नयाँदिल्ली । विश्व नै आतंकित बनाएको नयाँ कोराना भाइरसको सङ्क्रमणका कारण भारतमा बिहीबार थप एक जनाको मृत्यु भएसंगै त्यहाँ ज्यान गुमाउँनेको संख्या ४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारी अधिकारीले बिहीबार हिजो दिएको जानकारीअनुसार पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष थिए ।
ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनी घुमेर भारत आएका थिए । भारतमा कोरोना भाइरसका कारण बिहीबार हिजो बेलुकासम्म १७७ जना सङ्क्रमित रहेको पुष्टि भएको छ ।
तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी नागरिक रहेका छन् । स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।
जनता कर्फ्यु
कोरोना भाइरस फैलिँदै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थालाई नियन्त्रण बाहिर जान नदिन जनता कर्फ्यु लगाउन अपिल गरेका छन् ।
बिहीबार देशबासीलाई सम्बोधन गर्दै उनले आगामी आइतवार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लगाउने अपिल गरेका छन् ।
यो जनताका लागि, जनताले नै आफैँ लगाउने कर्फ्यु हुनेछ । उनले यस १४ घण्टाका क्रममा कोही पनि व्यक्ति घर बाहिर ननिस्कन अपिल गरेका छन् ।
प्रतिक्रिया