मंगलबार, असोज १, २०८१

कोरोना : जर्मन चान्सलर एञ्जेला क्वारन्टाइनमा

नेपालखोज २०७६ चैत १० गते १५:५२

काठमाडौँ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागु गरेको छ ।

यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बसेको उनका प्रवक्ताले बताए । कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । एक टेलिभिजनमा सम्बोधन गर्दै चान्सलर मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताए ।

सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्ति भन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर, अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ ।

चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो । गत शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी आफै क्वारन्टाइनमा बसेकी हुन्।

जर्मनीमा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया