कोभिड–१९ रोक्न गाउँपालिकाबाट मास्क र एन्टिसेप्टिक साबुन वितरण
रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँगाउँमा पुगेर गाउँपालिकाभरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताए ।
विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उनले भने्, “स्थानीय क्षेत्रमा कुनैसमस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भने ।
ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताए ।
जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।
प्रतिक्रिया