लकडाउन : मिर्गौलाका बिरामी मारमा
दमौली । कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।
दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलोसिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे । सामान्यावस्थामा रु ३० देखि ५० भाडा तिरेर दमौली आउने गरे पनि अहिले एम्बुलेन्स भाडामा लिँदा रु एक हजारदेखि एक पन्ध्रसयसम्म खर्च हुने गरेको उनको भनाइ छ ।
“सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैप¥यो,” उनले भने, “आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।” उनले हप्तामा दुई पटक डायलोसिस गराइरहेका छन् ।
सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताइन् । “प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलोसिस गराइरहेको छु,” उनले गुनासो गरिन्, “लकडाउनका कारण डायलोसिस गराउन समस्या परेको छ ।”
म्याग्दे गाउँपालिका–१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलोसिस गराउन आउने गरेको बताइन् । “प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु”, उनले भनिन् ।
मिर्गौलापीडितले नियमित रुपमा डायलोसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलोसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलोसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिए । “लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलोसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,” उनले भने ।
प्रतिक्रिया