मंगलबार, वैशाख ११, २०८१

कोरोनाका कारण शेयरबजार ध्वस्त भयो भन्न मिल्दैन : पौडेल

नेपालखोज २०७६ चैत २० गते १४:४३

कोरोना भाईरसको संक्रमणका कारणले यतिखेर पूँजिबजारमा निकै नै समस्या आईरहेकाले पूँजिबजारको कारोबार सहज गराउनु पर्नेहरुले एकातिर आवाज उठाए जस्तो गरी सामाजिक सञ्जालहरुमा सरकारको विरोध गरिरहेका बेला अहिले कारोबार रोक्नु नै उचित हुने भन्नेहरु पनि प्रशस्तै छन् । जानेर वा नजानेर दौडिनेहरुका कारणले शेयर बजारमा कहिले काँही भ्रम पैदा हुने गरेको पनि पाइन्छ । अहिले सरकारले मुलुकभर लकडाउन गरिरहेको छ । यो अवस्थामा बजारको अवस्था के छ भन्ने विषयमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्विकाप्रसाद पौडेलसँग नेपालखोजले गरेको कुराकानीको अंश ।

० मुलुकभर लकडाउन गरिएका कारण नेपालको शेयर बजार ध्वस्त हुन लाग्यो भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ नि के भन्नु हुन्छ ?
अहिलेको परिस्थितिमा कारोबार वन्द भएकोमात्र हो । यसले नेपाली शेयरबजार ध्वस्त भएको भनेर भन्न मिल्दैन । कोरोनाको महामारीको वर्तमान अवस्थामा लगानीकर्ताहरुको मनोवल केही गिरेको भने पक्कै छ । अहिले दैनिक कारोबारको कुरा गर्ने बेला होइन । संक्रमणकाललाई कसरी व्यवस्थापन गर्ने र आआफ्नो क्षेत्रलाई कसरी चलायामान बनाउने भन्ने हो । ध्वस्तै हुन लाग्यो सकिनै लाग्यो भन्ने कुरा होइन ।

० तर केही शेयरबजारसँग सम्वन्धित व्यक्तिहरुले त लकडाउने भए पनि यसको कारोबारलाई नियमित गर्नुपर्दछ भनिरहेका छन् नि त?
त्यस्तो मलाई लाग्दैन । सामाजिक सञ्जालहरुमा मैले पनि देखेको छु । ठूला लगानीकर्ताहरु, ब्रोकरहरु बजार खुल्नु पर्दछ भन्ने पक्षमा छैनन् । अहिले समस्या पर्दा बजार खुलाउन पाए कहिल्यै शेयर नकिनेकाहरु कारोबार नगरेकाहरुलाई सहज गराउने र चाँडै फाइदा लिन्छु भन्ने सोच राखेर त्यस्तो कुरा गरिएको हो भन्ने आशंका गरिएको छ । तर अहिलेको परिस्थितिमा कारोबार नियमित हुनु पर्दछ भन्नु गलत कुरा हो ।

० तर समस्या त छ ? आर्थिक संकटउन्मूख भएको त छ नि ?

नेपालमा मात्र होइन विश्वभर नै आर्थिक समस्या परिरहेको अवस्था छ । तर कुन कुन क्षेत्रमा प्रभाव पार्दछ भन्ने मुख्य कुरा हो । त्यसले ठूलो असर गर्दछ । विश्वव्यापी रुपमा रहेका प्रमुख र सूचिकृत कम्पनीहरुमा अधिकतम एक महिनाको असर पर्दछ भन्ने मेरो बुझाई छ । नेपालको सन्दर्भमा हामीले चालु आर्थिक वर्षको ८ महिनाको कारोबारलाई हेर्ने भने विगतका दिनहरुमा भन्दा निकै राम्रो देखिएको थियो । अवको वाँकी ४ महिनामा यही अवस्थामा रहे पनि त्यत्रि तल झर्ला जस्तो देखिँदैन । किनकी हामीेले ८ महिनामा राम्रै प्रगति गरिसकेका छौ ।

० त्यसो भए लगानीकर्ताहरु आत्तिनु पर्ने अवस्था छैन ?
आत्तिएर हुँदैन । हामीले पटक पटक आन्दोलनको सामना गरेको, भूकम्पको दुख खेपेका छौं, नाकावन्दी भोगेका छौं । त्यसलाई हेर्ने हो भने लगानीकर्ता आत्तिहाल्नु पर्ने अवस्था मैले देखेको छैन । तर विगतमा जस्तो भयावह अवस्था आउने शंका गर्नुपर्ने छैन । विगत ३ वर्षको अगाडिको जुन अवस्थामा हामी थियो त्यो भन्दा निकै राम्रो अवस्थामा हामी छौ । त्यसकारण पनि कोरोनाको प्रकोपबाट जुन परिस्थिति निम्तिएको छ । त्यसबाट हामी सामाजिक सञ्जालमा हल्ला गरिएजस्तो सिद्धिहाल्ने अवस्था होइन । अहिलेको शेयरबजार स्थिर अवस्थामा रहन्छ भन्ने मेरो बुझाई छ

० तर वर्तमान अर्थमन्त्रीले शेयरबजारलाई हेर्ने दृष्टिकोण नराम्रो भएकाले समस्या आउँछ भन्ने पनि त छन् नि ?
धेरै मानिसहरु त्यसो भन्छन् । तर मलाई त्यस्तो लाग्दैन । अर्थमन्त्रीका कारण शेयर बजार ध्यस्त हुने विग्रिएको भन्नेमा म विश्वास गर्दिन । वर्तमान अर्थमन्त्री आए पश्चात शेयर बजार निकै राम्रो भएको पनि छ । कतिपय नीति निर्माण भएका छन् । त्यसलाई सहज रुपमा कार्यान्वयन गर्ने हो भने हामी जस्तो लगानीकर्ताहरुले सकारात्मक रुपमा अगाढि बढ्न सक्ने हो भने शेयर बजार राम्रोसँग अगाढि बढ्छ ।

प्रतिक्रिया