नेपाल फर्किन चाहनेहरुका बारेमा सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाण्डौ । भारतमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण नेपाल फर्किन खोजेका नेपालीहरुका हकमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेर दुवै पक्षलाई आगामी सोमबार (चैत २४ गते) छलफलका लागि झिकाएको छ ।
स्वदेश फर्कन पाउने नागरिकहरुको आधारभूत अधिकारको सवाल उठाउँदै दायर निवेदनमा सर्वोच्च अदालतले तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्यो । आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको संवेदनशीलतालाई मध्यनजर गरि दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशका सम्बन्धमा निर्णय गर्न उपयुक्त हुने देखिएकाले नियमानुसार पेश गर्नु ।’
सर्वोच्च अदालतले यसअघि पनि गत १२ गते मुलुक फर्कन खोजेका कामदारहरुलाई स्वदेश फर्काउन रोक्न नहुने मागदावी गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यतिबेला न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले छलफल गर्न भनी विपक्षीलाई झिकाउन आदेश गरेको थियो ।








प्रतिक्रिया