आइतबार, वैशाख ३०, २०८१

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्न माग

नेपालखोज २०७६ चैत २१ गते १५:३१

तनहुँ । तनहुँको भानु नगरपालिकामा–५ पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सोही ठाउँका सागर श्रेष्ठ र मदन गुरुङ लगायतका युवाले केन्द्रमा कार्यरत अहेवद्वय महोत्तरी जिल्ला घर भएका २५ वर्षीय मनोहर पण्डित र भानु नगरपालिका–१२ बस्ने २७ वर्षीया पुष्पालाई हातपात गरेको भन्दै उनीहरुमाथि कारवाहीको माग गरिएको हो ।

भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, पुरनडिही स्वास्थ्य चौकीका प्रमुख डा। सुगम प्रधान, स्थानीय तह कर्मचारी सङ्घ भानु नगरपालिकाका अध्यक्ष शङ्कर रानाभाट र स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष जितबहादुर घर्तीले संयुक्त रुपमा प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाएका ह्ुन् । ती युवाको समूहले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्दै केन्द्रको कुर्सी, टेबल र अन्य उपकरण तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीको मोवाइल फुटाइदिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए । मदिरा सेवन गरेका उनीहरुले स्वास्थ्यकर्मीलाई केन्द्रभित्र प्रवेश गरी कुटपिट गरेको घटनाले अहिले कोरोना सङ्क्रमणको जोखिमको ज्यानको परवाह नगरिकन स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको विज्ञप्तीमा जनाइएको छ ।

कुटपिटमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले चैत १८ गते पक्राउ गरेपनि २४ घण्टाभित्र पीडित पक्ष जाहेरी दिन नआएको र अहिले हिरासतमा धेरै जना राख्न अवस्था नभएको हुँदा चैत १९ गते तारेखमा रिहा गरिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरुलाई हाजिरी तारेखमा राखिएको हुँदा पीडित पक्षले जाहेरी दिएको खण्डमा पुनः कारवाहीको प्रक्रिया शुरु गरिनेछ ।

प्रतिक्रिया