शुक्रबार, वैशाख २८, २०८१

विपन्नलाई राहत वितरण गर्दै स्थानीय सरकार

नेपालखोज २०७६ चैत २५ गते १५:०१

दुल्लू । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनले ज्याला मजदूरी गर्नबाट वञ्चित भएकालाई जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण शुरु गरेका छन् ।

लकडाउनले मजदूरी गर्न नपाएपछि समस्यामा परेका, विपन्न र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण शुरु गरिएको हो । जुम्लाको दुल्लु नगरपालिकामा आइतबारदेखि खाद्यान्न सामग्री वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । निर्वाचन क्षेत्र नं. २ अन्तर्गत दुल्लूका १३ वडाका एक हजार १५ परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री पठाइएको नगरप्रमुख घनश्याम भण्डारीले बताए । “दुल्लू—७ का ४५ परिवारलाई आइतबार राहत वितरण गरिएको छ”, उनले भने, “प्रति परिवार २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक केजी चिनी, दुई सय ग्राम चियापत्ती र एक लिटर खाने तेलका दरले राहत वितरण गरिएको हो ।” बाँकी सबै वडामा पनि राहत वितरण गरिने जानकारी पनि उनले दिए ।

लकडाउनका कारण समस्यामा परेका विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरिएको नगरप्रमुख भण्डारीले बताए । “सबैको सहयोगमा गरिब, विपन्न र अपाङ्ता भएका व्यक्तिको घरदैलोमै पुगेर राहत वितरण गर्छै”, उनले भने, “नेपाल सरकारले तोकेको मापदण्ड अनुसार परिवारभित्रको सदस्य सङ्ख्याको आधारमा वितरण गरिनेछ ।”

त्यसैगरि निर्वाचन क्षेत्र नम्बर –१ नारायण नगरपालिकाले ११ वडाका ९ सय ५४ परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल वितरण गरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खडकाले जानकारी दिए ।

प्रतिक्रिया