बागलुङमा विदेशबाट आएका ५०३ जनाको कोरोना परिक्षण सबैको रिपोर्ट नेगेटिभ
बागलुङ । जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि दु्रत जाँच शुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार हालसम्म गरिएका सबै जाँचको रिपोर्ट नेगेटिभ छ । शनिबार बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो । जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।
स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको दु्रत जाँच हुनेछ । सोमबारसम्ममा जिल्लाका १० स्थानीय तहका गरी कूल ९७१ शङ्कास्पद व्यक्तिमा कोरोना जाँच गरिने प्रमुख गुरौले जानकारी दिए । “हामीले तयारी गरेभन्दा जाँचको सङ्ख्या केही थप हुनसक्ने देखिएको छ”, उनले भने, “जाँच गरिएका कूल सङ्ख्यामध्ये १० प्रतिशतको स्वाबसमेत सङ्कलन गरी कोरोना परीक्षण गरिनेछ ।”
बागलुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोनाको दु्रत जाँच हुनेछ ।
“¥यापिड टेस्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, प्रमुख गुरौले भने, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ । किटको प्रयोग गरेर गरिने दु्रत जाँच (¥यापिड टेस्ट) को रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।

प्रतिक्रिया