शनिबार, वैशाख ८, २०८१

तरकारीले बजार पाएनः किसानलाई पास छैन

नेपालखोज २०७७ वैशाख १ गते ९:३९

नेपालगञ्ज । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए ।

बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी(रामतोरियाँ), बोडी, टमाटर(गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ ।

बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पु¥याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ ।

बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया