बिहीबार, वैशाख ६, २०८१

विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या

नेपालखोज २०७७ वैशाख १ गते ९:५६

खोटाङ । ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ ।

भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ ।

हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताए ।

यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ । जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहनुभएका उनका भतिजा तिलाबहादुरले जानकारी दिए।

कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उन्ले दिए ।

प्रतिक्रिया