शुक्रबार, वैशाख १४, २०८१

यूएनअन्तर्गत अफगानिस्तानमा खटिएका नेपालीलाई स्वदेश आउन अनुमति

नेपालखोज २०७७ वैशाख ४ गते ७:१७

काठमाडौँ । सरकारले संयुक्तराष्ट्र संघीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको अनुमति दिएको छ ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यो निर्णय गरेको हो । यूएनले नै आग्रह गरेबमोजिम यूएनमा कार्यरत अफगानिस्तानमा रहेका नेपाली नागरिक फिर्ता ल्याउने निर्णय गरिएको समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । अफगानस्तानमा कार्यरत यूएनमिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि यूएनसँग आग्रह गरेका थिए ।

उनीहरुको आग्रहअनुसार यूएनले नेपाल सरकारलाई अनुमति मागेको थियो । ‘छ हप्ता काम गरेपछि यहाँ एक हप्ता बिदा पाइन्छ, त्यो रेगुलरअन्तर्गतको बिदामा हामीले नेपाल फर्किनका लागि अनुरोध गरेको हो’ अफगानस्थित यूएनडिपी क्षेत्रीय कार्यालयका प्रमुख अजय दासले भने,‘अहिले विशेष परिस्थिति छ त्यसैले छुट्टिको समयमा नेपाल नै फर्किउ भनेर हामीले आउन खोजेका हौं ।’ उनका अनुसार यूएनअन्तर्गत अहिलेको स्वास्थ्य समस्यामा प्रत्यक्ष काम गर्नुपर्ने स्टाफहरुलाई छुट्टि दिएको छैन । तर फ्रन्टलाइनमा काम नगर्नुपर्ने खालका स्टाफहरुले आफ्नो रेगुलर बिदामा नेपाल आउन चाहेको दासले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया