पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका
मुग्लिन । केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् ।
लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् ।
अध्यक्ष गुरुङले भनिन्, “म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उनले बताइन् ।
अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेको थियो ।
प्रतिक्रिया