मंगलबार, वैशाख ११, २०८१

अखाद्य वस्तु नष्ट

नेपालखोज २०७७ वैशाख ९ गते १३:१५

बागलुङ । ताराखोला गाउँपालिकाले लकडाउनबीच पसल अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाको टोलीले पाँचै वटा वडाका करिब १०० पसलको अनुगमन गरेको थियो ।

लकडाउनका बेला हुन सक्ने अखाद्य वस्तुको बिक्री र उपभोगलाई रोक्न पसल अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

पसलमा दैनिक उपभोग्य वस्तुको आपूर्तिको अवस्था बुझ्न पनि अनुगमनले सघाएको गाउँपालिकाले जनाएको छ । बरामद गरिएका अखाद्य वस्तुलाई सोमबार नष्ट गरिएको थियो । अनुगमनका क्रममा ८० वटा पसलमा मिति गुज्रेका वस्तु भेटिएका थिए ।

चामल, चिउरा, पेय पदार्थ, चाउचाउ, बिस्कुट, भुजालगायतका वस्तुमा म्याद नाघेको पाइएको थियो । अखाद्य सामग्री राख्ने र बेच्ने व्यवसायीलाई आइन्दा त्यसो नगर्न लिखित रुपमै निर्देशन दिइएको अध्यक्ष घर्तीले बताए । पसलबाट खरिद गरिने खाद्य वस्तुको म्याद र गुुणस्तरीयता यकिन गरेर मात्र उपभोग गर्न गाउँपालिकाले सर्वसाधारणलाई सचेत बनाएको छ । सकभर पसलमा पाइने तयारी खानाको प्रयोगलाई घटाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया