शुक्रबार, चैत १६, २०८०

मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध फेला

नेपालखोज २०७७ वैशाख ११ गते १३:११

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका–३ सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ । एक स्थानीयवासीको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । लोपोन्मुख गिद्धकोे उद्धार गरिएको गरिएको छ ।

घरमा गिद्ध आएर बसेपछि बुधबार स्थानीयबासीले सिर्दिबासको फिलिममा रहेको मनासलु संरक्षण क्षेत्रको कार्यालयलाई जानकारी गराएको थियो । कार्यालयमा जानकारी आएलगत्तै तत्कालै कर्मचारी पठाएर गिद्धको उद्धार गरिएको प्रमुख लामाको भनार्इ छ ।

“घरमा भेटिएको गिद्ध उड्नसमेत नसक्ने अवस्थामा थियो”, उनले भने, “गिद्धले आहार नपाएर हो वा बिरामी भएर हो स्पस्ट भएको छैन ।” उक्त लोपोन्मुख गिद्धलाई संरक्षणका लागि पिँजडाभित्र राखिएको प्रमख लामाले जानकारी दिनुभयो । फेला परेको गिद्ध चितवनस्थित पक्षी संरक्षण सङ्घ नेपालले संरक्षण गरेको राखेको पाइएको उनको भनाइ छ ।

“उक्त गिद्धको खुट्टामा ३९ नम्बरको ट्यागसमेत लगाइएको रहेछ”, प्रमुख लामाले भने, “अहिले भेटेरेनरी चिकित्सकको सल्लाहअनुसार आहार दिएर राखिएको छ ।” गिद्ध फेला परेलगत्तै सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रलाई समेत जानकारी गराइ सकिएको उनले जानकारी दिए । अहिले गिद्धको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हँुदै गएको लामाले बताउए ।

प्रतिक्रिया