वन अतिक्रमण गरिएका संरचनाहरु भत्काइए

नेपालखोज २०७७ वैशाख १७ गते ९:०१

कैलाली । कैलालीको अत्तरियामा विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु भत्काइएका छन् । सव डिभिजन वन कार्यालय अत्तरिया र सामुदायिक वनका उपभोक्ताको संयुक्त पहलमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरु भत्काएका हुन् । गोदावरी नगरपालिका–१ स्थित चाहना सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्गमा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

सामुदायिक वन क्षेत्रमा बनाइएका पक्की शौचालय, भौतिक संरचना बनाउन प्रयोग गरिने सामग्री र एक दर्जनजति बनाइएका टहरा खाली गरिएको उनको भनाइ छ । खाली गरिएको एक हेक्टर वन क्षेत्रमा तारबार लगाउने तयारी भइरहेको जनाइएको छ । उनले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपी अत्तरियालगायत विभिन्न स्थानमा वन अतिक्रमण तीव्ररूपमा भइरहेको जनगुनासो आउने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशको प्रमुखद्वारका रूपमा रहेको अत्तरियास्थित गोदावरीलाई प्रदेशको राजधानी तोकेपछि सो क्षेत्रमा वन अतिक्रमण गरी भौतिक संरचना बनाउने क्रम बढेको स्थानीयबासिन्दाको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा प्रदेशको स्थायी राजधानी तोकेको थियो । प्रदेशको स्थायी राजधानी तोकिएसँगै सो क्षेत्रमा विभिन्न बहानामा वन अतिक्रमण भइरहेको नगरपालिका–२ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए।

कैलालीमा सुकुम्बासी, मुक्तकमैया, विद्यालय, क्याम्पस, मन्दिर, स्थानीय तहका वडा कार्यालयलगायतका नाममा वन अतिक्रमण भइरहेको बताउँदै उनले लकडाउन खुल्ने वित्तिकै अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरिने बताए । जिल्लाका अत्तरिया, चौमाला, सुखड, भजनी, लम्की, हसुलिया, फूलबारीलगायतका स्थानमा वन अतिक्रमण बढी देखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । कैलालीमा २५ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया