सोमबार, असार ९, २०८२

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि

नेपालखोज २०७७ वैशाख १९ गते १२:४०

चितवन । कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।

ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु २७० पुगेको छ । अण्डा उत्पादकका अगुवा कृषक मदन पोखरेलले रु २७० प्रतिक्रेटमा फार्मबाट अण्डा व्यवसायीले उठाएको जानकारी दिए । उनका अनुसार अहिले कृषकका गोदाममा अण्डा छैन ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएको तर भण्डारण गरेर राख्नु नपरेको जानकारी दिए ।

लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको उनको भनाइ छ । दुई÷चार वटा अण्डा प्लाष्टिकको झोलामा राखेर किन्ने उपभोक्ताले क्रेटका क्रेट अण्डा किन्ने गरेको उनी बताउछन् । लकडाउनअघिसम्म दैनिक ३५ लाख वटा हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २५ लाख हाराहारीमा झरेको अध्यक्ष केसीको भनाइ छ ।

प्रतिक्रिया