स्थानीय प्रशासनद्वारा ४३ योजनालाई काम गर्ने अनुमति
कञ्चनपुर । कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिनयता साना, मझौला र ठूला आयोजनाको काम गर्न दिइने अनुमति दिएको हो ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल योजना, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिइएको जानकारी दिए ।
‘निर्माणस्थलमा सामाजिक दूरी, मजदुरको सुरक्षा सतर्कतालगायत विषयमा समेत अनुगमन गरिनेछ’, उनले भने,‘केही समयअघि क्वारेन्टाइनबाट ल्याएर २९ जना भारतीय मजदुरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।’

प्रतिक्रिया