शनिबार, वैशाख १३, २०८२

नेपालगन्ज उपमहानगरपालिकासँग अन्य पालिकाले बढाए दूरी

नेपालखोज २०७७ वैशाख २३ गते १३:३५

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी बढाएका छन्। छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगन्जतर्फका नाका बन्द गरेर केही समयका लागि आवतजावतमा रोक लगाएका छन्। सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन्। नेपालगन्जबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टिन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए।

प्रतिक्रिया