संसद अधिवेशन : स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा, बैठक केहिबेरमा सुरु हुँदै
काठमडौं । संघीय संसदको बजेट अधिवेशन केहिबेरमासुरु हुँदैछ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजै अपरान्ह बस्न लागेको हो ।
कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ । कोरोना जाँचको रिपोर्टको आधारमा मात्र सांसदलाई भित्र प्रवेश गराइनेछ ।
बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी बस्ने कुर्सी मिलाइएको छ । त्यसैगरी दुवै सदनको बैठक कक्षलाई सेनिटाइज्ड तथा डिस इन्फेक्टेड गरिएको छ ।
संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि कोभिड–१९ भए नभएको निक्र्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको हिँजो थ्रोट स्वाब सङ्कलन गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिए ।
संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गर्नुपरेको उनको भनाइ थियो ।
सभामुख सापकोटाले आज अपराह्न ४ बजे संसद् बैठक प्रारम्भ हुने, यही वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको जानकारी दिए ।

प्रतिक्रिया