बिहीबार, वैशाख १३, २०८१

चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको दावी

नेपालखोज २०७७ वैशाख २७ गते १२:१०

काठमाडौं । नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको काठमाडौंस्थित चिनियाँ दूतावासले दाबी गरेको छ ।

दूतावासले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।

आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

सो घटनाको सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने जनाएको छ ।

दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका छन् । साथै नोटमा चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएको भनिएको छ ।

साथै आफ्ना उचित मागहरु तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि प्रेस नोटमा उल्लेख गरिएको छ । चिनियाँ दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो ।

प्रतिक्रिया