सीमा विवादको कूटनीतिक समाधान : ज्ञवाली
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद साझा समस्या भएको भन्दै साझा ढङ्गले नै समाधान खोजिनुपर्ने बताए। सीमा अतिक्रमणका सन्दर्भमा सबै राजनीतिक दलको एकताले सरकारलाई दृढतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको उनको भनाइ थियो । उनले भने, “सीमा समस्या समाधानका लागि प्रयास गर्दै आएका थियौँ ।” सीमा विवाद समाधानका लागि नेपालले वार्ताको प्रस्ताव गरेको उल्लेख गर्दै उनले गत फेब्रुअरीमा बैठक बस्ने तयारी भइरहँदा कोरोनाका कारण प्रभावित भएको बताए । “सीमा अतिक्रमणको समाधान कूटनीतिक तहबाटै गर्न सकिन्छ”, उनले भने ।
सार्वभौमसत्ता रक्षार्थ सबै दलबीचको राष्ट्रिय एकता नै बलियो आधार भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सीमा विवादका विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे । सरकारले यसअघि नै लिपुलेक नेपालको भूमि हो भन्ने सन्दर्भमा चीनलाई पनि पत्राचार गरिसकेको उल्लेख गर्दै उनले सरकारको तर्फबाट चीनलाई पनि प्रष्ट पार्ने काम भएको बताए । मन्त्री ज्ञवालीले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न प्रधानमन्त्रीले सार्वजनिक रुपमै आह्वान गर्नुभएको समेत सदनलाई जानकारी गराए । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले प्राविधिक पक्ष मिलाएर नक्सा सार्वजनिक गरिने बताए ।
प्रतिक्रिया