पहिलेका शासकहरुले गरेको गल्ती अहिलेको पुस्ताले भोग्दैछ : गृहमन्त्री थापा

नेपालखोज २०७७ वैशाख २८ गते १७:५१

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पहिलेका शासकहरुले गरेको गल्तीका कारण अहिलेको पुस्ताले पीडा भोग्नुपरेको बताएका छन् ।

भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडकमार्ग बनाएको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले पूर्वशासकहरुले गरेको गल्तीको परिणाम अहिले भोग्नुपरेको बताएका हुन् ।

भारतले चीनबाट बच्नका लागि नेपालको सीमामा सेना राख्ने अनुमति माग्दा तत्कालीन शासकहरूले अनुमति दिएर गम्भीर गल्ती गरेको पनि उनले बताए ।

पछि भारतले स्थायी रूपमा नेपाली भूमिमा चौकी नै राखेको र केही ठाउँबाट उनीहरुलाई हटाउन केही शासकहरूले लडेको उल्लेख गर्दै कालापानीबाट भने हटाउन नसकिएको उनले बताए ।

भारतले त्यस क्षेत्रमा बनाएको प्रशासनिक र शैक्षिक संरचनाका विषयमा नेपाल अनभिज्ञ नरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सिंगो भएर यस विषयमा आवाज उठाएमा नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया