भिसाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् ।
सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको सोमबारको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताए ।
मन्त्री ज्ञवालीले भने, “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली सङ्घ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।”
कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भने । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया