मूल्यवृद्धिको गुनासोपछि बजार अनुगमन
प्युठान । प्युठानमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेपछि बजार अनुगमन शुरु गरिएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि दैनिक उपभोग्य सामग्री दाल, चामल, चिनी, मैदासँगै रिचार्ज कार्डमा मूल्यवृद्धि भएको गुनासो आएका कारण अनुगमन थालिएको स्थानीय तहले जनाएका छन् ।
ऐरावती गाउँपालिकाले उपभोक्ता हित संरक्षण समिति गठन गरी बजार अनुगमनको काम शुरु गरिएको जनाएको छ । आजदेखि जेठ १५ गतेसम्म ६ वटै वडामा रहेका बजार क्षेत्रको अनुगमन गरिने पालिकाका योजना शाखा प्रमुख विनोद भुसालले बताए । पहिलो चरणमा मूल्यसूची, नापतौल, दर्ता प्रमाणपत्र, अवधि नाघेका सामान, स्थानीय मदिरा एवं खाद्य तथा अखाद्य वस्तुमा विशेष ध्यान दिएर अनुगमन गरिने भुसालले बताए ।
गौमुखी गाउँपालिकाकाले पनि बजार क्षेत्रमा अनुगमन गर्ने तयारी गरेको अध्यक्ष विष्णुकुमार गिरीले बताए । अहिले बजार क्षेत्रमा १० देखि १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताबाट गुनासो आएको उनले बताए । नौबहिनी गाउँपालिकामा उद्योग वाणिज्य संघले मूल्य सूची बनाएकाले सोहीअनुसार किनबेच भएनभएको निगरानी भइरहेको छ । अहिलेसम्म मूल्यवृद्धिको गुनासो नआएको अध्यक्ष शिव रिजालले बताए । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले तत्काल बजार अनुगमन र व्यवसायीसँग छलफल गरी नगरवासीको दैनिकी सहज बनाउन त्रियाशील रहने बताए।
प्रतिक्रिया