कोरोना महामारीलाई नजरअन्दाज गर्दै सरकार बजेट ल्याउन लाग्यो : पूर्वअर्थमन्त्री कार्की
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीलाई नजरअन्दाज गर्दै बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् ।
प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उहाँले कोरोनालाई नजर अन्दाज गरेर सरकारले परम्परागत ढंगबाट बजेट ल्याउने तयारी गरेको बताए ।
नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा सरकारले त्यसो गर्न नसकेको नेता कार्कीले बताए । सरकारले अघि सारेको बजेटको सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने उहाँले चेतावनी दिए ।
सरकारी खर्चमा शिथिलता, निजी क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र शिथिल हुँदै गएको सांसद कार्कीको भनाई छ ।
सरकारले स्थिर सरकार र सुखी नेपाली, समृद्ध नेपालको नारा दिए पनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरवका योजनाहरुको प्रगति शून्यप्राय रहेको उहाँले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया