धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु
धादिङ । धादिङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । धादिङ बेनीघाट रोराङ गाउँपालिका १० को जयपुरीमा मङ्गलबार मकै गोड्ने क्रममा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ वर्षीया विपना चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिइन् ।
बिहान शिरडाँडाबाट जयपुरीमा मकै गोड्न आएकी चेपाङलाई करेन्ट लागेपछि स्थानीयले उपचारका लागि गजुरीको प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उनको उपचारको क्रममा ज्यान गएको हो ।
एक सातअघि आएको हावाहुरीका कारण विद्युत पोल ढलेको स्थानीयहरुले विद्युत् प्राधिकरणलाई जानकारी गराएका थिए । पोल सिधा बनाउन वा विद्युत् सेवा बन्द दुवै काम प्राधिकरणले नगर्दा यो घटना भएको वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए ।
घटना हुनुमा कमजोरी भएको स्वीकार गर्दै नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय धादिङका ध्रुव भण्डारीले मृतक परिवारलाई प्राधिकरणको नियम अनुसार सहयोग गर्ने बताए ।
ढलेको पोल मर्मत गर्न जाने योजना बनाइएको बेला घटना भएको भण्डारीको भनाइ छ ।
प्रतिक्रिया