कोरोनाविरुद्ध लडिरहेका डाक्टरहरुलाई सरकारले सोध्यो स्पष्टीकरण

नेपालखोज २०७७ जेठ १ गते २०:०४

काठमाडौँ । कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर काम गरिरहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग विभाग र ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर तथा अधिकारीहरुसँग सरकारले स्पष्टीकरण सोधेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती डाक्टरहरुलाई मंगलबार ‘गोप्य’ पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। तर, मन्त्रालयबाटै उक्त पत्र बुधबार सार्वजनिक भएको छ।

कोरोनाविरुद्धको संघर्षमा खटिरहेका डाक्टरहरुलाई हतोत्साहित गराउने गरी स्वास्थ्य मन्त्रालयबाट बारम्बार यस्तो हर्कत हुने गरेको स्पष्टीकरण सोधिएका एक डाक्टरले प्रतिक्रिया दिएका छन्।

यसअघि कोरोनाविरुद्ध सक्रिय एक जना डाक्टरलाई मन्त्रालयमा तानिएको थियो। चौतर्फी विरोधपछि उनलाई पुनः फिर्ता पठाइएको थियो।

कोरोना भाइरसको उद्गमस्थल मानिँदै आएको चीनको वुहानबाट नेपाल आएका धनुषा जिल्लाका एक जना ३२ वर्षीय विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

त्यसपछि उनको नमुना संकलन गरी विश्व स्वास्थ्य संगठनको हङकङमा रहेको प्रयोगशालामा पठाइयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित तीनवटा सरकारी संस्था र विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयको अनुमतिमा उक्त नमुना जिनेटिक ९अनुवांशिक० सिक्वेन्सिङ गर्न हङकङ पठाइएको उक्त कार्यमा संलग्न चिकित्सकहरु बताउँछन्।

त्यसबाट नेपालमा कोरोना भेटिएको पुष्टि भएको थियो भने भाइरसको अध्ययन गर्न नेपालका डाक्टरहरुलाई सहज भएको थियो।

जिनेटिक सिक्वेन्सिङ भनेको भाइरसमा भएको जिनको कोडिङ गर्ने काम हो र त्यसले नेपालमा भएको भाइरस अन्य क्षेत्रमा भेटिएको भन्दा कति फरक छ भनेर पत्ता लगाउन मद्दत पुग्छ।

तर, त्यस कार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति नलिइएको भन्दै उसले डाक्टरहरुसँग स्पष्टीकरण सोधेको हो।

नेपालमा अनुसन्धान गर्ने त्यस किसिमको प्रयोगशाला नभएपछि नमुना हङकङ पठाइएको स्वास्थ्यकर्मी बताउँछन्। हङकङमा प्रमाणित भएको उक्त रिपोर्टका आधारमा ६ नेपाली र ९ विदेशी अनुसन्धानकर्ताले तयार गरेको ‘नेपालका पहिलो कोरोना संक्रमितमा पाइएको सार्स–कोभ–२ भाइरसको जिनेटिक सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट’ अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा फागुन २९ गते प्रकाशित भएको थियो।

प्रतिक्रिया