मंगलबार, असार १०, २०८२

खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह

नेपालखोज २०७७ जेठ २ गते १४:१६

पोखरा । पोखरा महानगरपालिका–३० ले कृषि भूमि खाली नराख्न वडावासीलाई आग्रह गरेको छ ।

बन्दाबन्दीपछि खाद्य सङ्कट आउन सक्ने भन्दै वडा समितिको बैठकले वडाभित्र जग्गा रहेका धनीलाई कृषि उत्पादनसँग जोड्नसमेत आग्रह गरेको हो ।

बाँझो राखेमा त्यस्तो जग्गा खेती गर्न चाहनेलाई उपलब्ध गराइने पनि वडा समितिले निर्णय गरेको वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।

“हामी सकभर सम्बन्धित जग्गाधनीलाई नै खेती गर्न आग्रह गर्छौँ, उहाँहरुले नमाने खेती गर्न चाहनेलाई उपलब्ध गराउँछौँ”, उनले भने, “हाम्रो उद्देश्य खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने नै हो ।”

उनका अनुसार वडामा दुई हजारभन्दा बढी रोपनी जग्गा रहेको एक सिजनको खेतीपछि बाँझो रहने गर्दछ ।

उनले पहिला जग्गाधनीलाई आग्रह गरिने, जग्गाधनीले नगरे नजिकका सधियारलाई भनिने र सधियारले पनि नमाने वडालाई सूचना दिएर जसले पनि खेती गर्न सक्ने भएका छन् । जग्गाधनी र खेती गर्नेका बीच विवाद भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया