आइतबार, वैशाख १४, २०८२

कामपाको सफाइ क्षेत्रमा काम गर्नेको कोरोना परीक्षण जारी

नेपालखोज २०७७ जेठ २ गते १५:३८

काठमाडौं । काठमाडौँ उपत्यकामा पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।

बिहीबार कालिमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकविक्रेता, मजदुर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी (¥यापिड डाइग्नोष्टिक) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो ।

आरडिटी गरिएकामध्ये–४ जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।

कामपाको सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो ।

कामपाका ९५० जना कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उहाँहरुको टेकुमा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ ।

सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

प्रतिक्रिया